
कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।
वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो । अस्पतालका फिजिसियन डा.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ । आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए । साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ । लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
‘लामिछाने जी को स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,’ डा ताम्राकारले भने ‘भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ’ । चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए । ‘यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो’, डा.ताम्राकारले भने ।
लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए । तर लामिछानेले ‘आफ्नो मुटु दरो छ’ भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए । लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् ।
रवि लामिछानेको स्वास्थ्यमा भएन सुधार, आज पनि रक्तचाप १७०/११०