प्रविधिको दुरुपयोग गर्दै बढ्दै मानव बेचबिखन, सांसद शर्माले बलियो कानुनी संरचनाको माग

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले नेपालमा बढ्दो मानव बेचबिखनप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। प्रविधिको दुरुपयोगमार्फत मानव बेचबिखन झनै सजिलो हुँदै गएको भन्दै उनले त्यसलाई रोक्न कानुनी संरचना बलियो बनाउनु पर्ने आवश्यकता औंल्याए।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयक सम्बन्धमा सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शर्माले मानव तस्करी परम्परागत ढाँचाबाट हटेर अहिले प्रविधि आधारित र अधिक जटिल हुँदै गएकाले, सोहीअनुसार विधेयकलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

उनका अनुसार अहिले दुई प्रमुख तरिकाबाट मानव तस्करी भइरहेको छ— पहिलो, सीमापार ओसारपसार, जहाँ प्रलोभन र अनावश्यक आशा देखाएर नेपालीहरूलाई विदेश पठाइन्छ। दोस्रो, भिजिट भिसाको नाममा रोजगारीका लागि खाडी मुलुक पठाउने, जसले गर्दा महिलाहरू विशेषगरी चरम यातना भोग्न बाध्य छन्।

शर्माले भने, “प्रविधिको गलत प्रयोग गर्दै मानव बेचबिखनलाई सहज बनाउने कुचेष्टा बढेको छ। अब यो रोक्न ढिला गर्नु हुँदैन। नेपाली नागरिकहरू पाइला पाइलामा बेचिइरहेका छन्। अब कानुन बलियो बनाउने बेला आएको छ।”

सांसद शर्माले मानव सुरक्षा र मर्यादाको पक्षमा सरकारलाई दृढ र प्रविधिमैत्री कानुन निर्माणमा तदारुकता देखाउन आग्रह गरे। मानव तस्करी रोक्न सक्षम कानुनी संरचना निर्माण नगर्दा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्ठा नै जोखिममा पर्ने उनको चेतावनी थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation