सांसद घर्ती मगरको आरोप – संसद् सत्ताको थियटर बन्दै, सभामुखको भूमिकामाथि प्रश्न

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले संसद्को गरिमा र सभामुखको निष्पक्ष भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् जनताको आशाको केन्द्र नभएर सत्ताको ‘थिएटर’ जस्तो देखिन थालेको आरोप लगाए।

उनका अनुसार प्रतिपक्षी सांसदहरू बैठक बहिष्कार गरिरहेका बेला पनि सभामुख एकपक्षीय ढंगले संसद् चलाउन खोज्नुले लोकतान्त्रिक प्रक्रिया र संसद्को सम्मानमा आँच पुर्‍याएको छ। सभामुखको अनुपस्थितिमा कुर्सीबाट गरिने अभिव्यक्तिहरूले संसद्‍लाई नाटक rehearse हुने ठाउँ बनाएको उनको गुनासो थियो।

सांसद घर्तीले भने, “संसद जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ।”

बाढीपहिरोका कारण देशभर हजारौं नागरिक विस्थापित हुँदा पनि सरकारले तत्काल राहत र उद्धारको लागि कुनै ठोस योजना नल्याएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। उनले तराई र ग्रामीण क्षेत्रमा पिउने पानीको चरम संकट रहेको, मिटर ब्याज र सहकारी पीडितहरू न्यायको पर्खाइमा रहेको तर सरकार मौन बसेको आरोप लगाए।

निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडको विषयमा संसद्को छानबिन समिति गठन भइसकेकै बेला राष्ट्रिय सभामा एमाले सांसदबाट सो अवधिलाई हटाउने संशोधन दर्ता हुनु र त्यसप्रति सरकार मौन रहनुले योजनाबद्ध चलखेल भएको संकेत दिएको उनले बताए।

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि बनेका पुराना कानुनहरू कार्यान्वयन नहुँदा संघीयता कमजोर बनिरहेको उल्लेख गर्दै उनले सरकार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन गम्भीर नभएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation