विपद् आउनुअघि नै तयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन, हेलिकप्टर दुरुपयोगमा कडाइ

काठमाडौं, असार ४ — सुधन गुरुङ ले विपद् व्यवस्थापनमा परम्परागत कार्यशैली परिवर्तन गर्दै विपद् आउनुअघि नै प्रभावकारी पूर्वतयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विपद् आइसकेपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुने प्रवृत्तिले अपेक्षित नतिजा दिन नसकेको बताउनुभयो। उहाँले सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी सम्बन्धित सबै निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभयो।

बैठकमा गृहमन्त्री गुरुङले विगतमा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको व्यापक दुरुपयोग भएको टिप्पणी गर्दै अब त्यस्तो प्रवृत्तिमा पूर्ण रूपमा रोक लगाइने स्पष्ट पार्नुभयो। उहाँले वर्तमान सरकारका मन्त्रीहरूले अनावश्यक रूपमा हेलिकप्टर प्रयोग नगर्ने बताउँदै आफू स्वयंले पनि राज्यको स्रोतसाधनको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“म आफैँ पनि हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन,” उहाँले भन्नुभयो।

गृहमन्त्री गुरुङले उद्धार तथा आपत्कालीन सेवामा खटिएका सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिनुभयो।

उहाँले देशका उच्च जोखिमयुक्त बाढी–पहिरो प्रभावित क्षेत्रहरूमा आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिँदै सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

“सबै निकाय एकीकृत टिम बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्,” गृहमन्त्री गुरुङले भन्नुभयो।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। आगामी मनसुनजन्य विपद्लाई लक्षित गर्दै सरकारले पूर्वतयारी, समन्वय र उद्धार क्षमतामा विशेष ध्यान दिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation