गणेश नेपालीको परिवार र सरकारबीच वार्ता जारी, सहमति नजुट्दा पोस्टमार्टम रोकियो

काठमाडौं,— त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवार र सरकारबीच जारी वार्ता आइतबार बिहानसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार शनिबार साँझदेखि सुरु भएको छलफलमा पीडित परिवारले राखेका माग र सहमतिका बुँदामाथि गृहकार्य भइरहेको छ। हालसम्म दुवै पक्षबीच सहमति नजुटेकाले गणेश नेपालीको शवको पोस्टमार्टम प्रक्रिया पनि सुरु हुन सकेको छैन।

हाल उनको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ अस्पताल) को शवगृहमा सुरक्षित रूपमा फ्रिजिङ गरेर राखिएको छ।

मुगुको सोरु गाउँपालिका–६ निवासी गणेश नेपालीले गत असार २५ गते राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट निधन भएको थियो।

यस घटनापछि काठमाडौं महानगरपालिकाले पीडित परिवारलाई राहतस्वरूप परिवारका एक सदस्यलाई योग्यताअनुसार रोजगारी उपलब्ध गराउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको छ।

यसैबीच, पीडित परिवार र सरकारबीच जारी वार्ताबाट सहमति जुटेपछि मात्र पोस्टमार्टमसहितका थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation