मेस्सी–रेफ्रीबीच भनाभन, ‘मेरो अपमान नगर’ भन्दै दिए चेतावनी

२०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक प्रतिस्पर्धाका क्रममा मैदानमा देखिएको एक घटनाले विश्वभर चर्चा बटुलेको छ। खेलको पहिलो हाफमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र पोर्चुगाली रेफ्री जोआओ पेड्रो पिनहेरोबीच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।

घटना स्विट्जरल्याण्डले फ्रि-किक प्रहार गर्नुअघि भएको हो। अर्जेन्टिनाको डिफेन्समा रहेका मेस्सीलाई रेफ्री पिनहेरोले तोकिएको दूरीमा पछाडि हट्न निर्देशन दिएका थिए। तर निर्देशन दिने क्रममा प्रयोग गरिएको बोल्ने शैली र हाउभाउप्रति असन्तुष्ट बनेका मेस्सीले तत्काल प्रतिवाद गर्दै भने, “राम्रोसँग बोल, मेरो अपमान नगर।”

त्यसपछि पनि दुवैबीच छोटो संवाद भएको टेलिभिजन क्यामेराले कैद गरेको थियो। मेस्सी रेफ्रीको नजिक पुगेर आफ्नो असन्तुष्टि व्यक्त गरे पनि उनले पूरै समय संयमित व्यवहार देखाए। दुवै हात पछाडि राख्दै उनले सम्मानजनक संवादको अपेक्षा गरेको स्पष्ट देखिन्थ्यो।

घटनापछि कुनै पनि खेलाडी वा रेफ्रीमाथि कारबाही भएन। तर विश्वकपको सेमिफाइनल प्रवेशको उच्च दबाबपूर्ण खेलमा यो क्षण सबैभन्दा बढी चर्चित बनेको अन्तर्राष्ट्रिय खेलकुद सञ्चारमाध्यमहरूले जनाएका छन्।

को हुन् जोआओ पेड्रो पिनहेरो?

पोर्चुगलको भिला नोभा डे फामालिकाओमा जन्मिएका ३८ वर्षीय जोआओ पेड्रो पिनहेरो युरोपका अनुभवी रेफ्रीमध्ये एक मानिन्छन्। उनले सन् २०१५ मा पोर्चुगलको शीर्ष डिभिजनमा रेफ्रीको रूपमा डेब्यु गरेका थिए भने २०१६ मा फिफाको अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गरेका थिए।

पिनहेरोले युइएफए च्याम्पियन्स लिग, युरोपा लिग तथा २०२५ को युइएफए सुपर कपलगायत प्रतिष्ठित प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। यही अनुभवका आधारमा उनी २०२६ फिफा विश्वकपका रेफ्रीको रूपमा चयन भएका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation