कारागारबाट दुर्गा प्रसाईंको भावुक अपिल : “मलाई सिध्याउने योजना थियो, तर अझ उज्यालो नेपाल बनाउने संकल्पमा छु”

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाटै एक भावुक अपिल सार्वजनिक गरेका छन्। उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सो अपिलमा प्रसाईंले आफ्नो आगामी यात्राको योजना जेलमै बसेर बनाइरहेको बताएका छन्।

प्रसाईंले आन्दोलनको दिन आफूलाई सिध्याउने योजना भएको भन्दै गाडी प्रहरीतर्फ हुइँक्याउनुपरेको दाबी गरेका छन्। ‘जब मेरै गाडीमा अश्रुग्यास खस्यो र मेरै अगाडि गोली चल्यो, मलाई सिध्याउने योजना बनाइएको रहेछ भन्ने बुझें’, उनले लेखेका छन्, ‘त्यसपछि मैले गाडीका चालकलाई निकालेर गाडी प्रहरीतर्फ हुइँक्याएको हुँ।’

बाहिरबाट कडा देखिए पनि भित्र निकै भावुक रहेको उल्लेख गर्दै उनले प्रेम आचार्यको आत्मदाहपछि ढोका थुनेर रोएको खुलासा गरेका छन्। ‘प्रेमको सुसाइड नोट पढेपछि म पहिलोपटक भित्रभित्रै भक्कानिएको थिएँ’, उनले लेखेका छन्।

कारागारमै रहेका प्रसाईंले नातिलाई भेट्न एकछिनको अनुमति पाउने मनोकांक्षा व्यक्त गरेका छन्। पढाइका लागि विदेश गएकी छोरी यही महिना डाक्टर भएर फर्किन लागेको र आफू विमानस्थल पुग्न नपाउने पीडा पनि उनले पोखेका छन्।

राजनीतिक षड्यन्त्रको आरोप

प्रसाईंले आफूलाई पक्राउ गर्नु पछाडि सरकारले माफिया, तस्कर र भ्रष्ट राजनीतिक संरक्षणकर्ताहरूको मुखुण्डो खोलेको कारण रहेको दाबी गरेका छन्। ‘म केवल बाँचिरहेको छैन, आगामी यात्राको योजना बनाइरहेको छु’, उनले अपिलमा उल्लेख गरेका छन्।

उनले आफू आन्दोलनको दिन (चैत १५) तीनकुने आइपुग्नुअघि नै सुरक्षाकर्मीले अश्रुग्यास र गोली प्रयोग गरिसकेको दाबी गर्दै प्रश्न गरेका छन्, ‘मैले “शान्त रहनुहोस्” भन्दा बाहेक के भनेको थिएँ? यो गल्ती हो?’

भावनात्मक पक्ष उजागर

अपिलमा प्रसाईंले आफ्नो विगत स्मरण गर्दै अस्पताल र मेडिकल कलेज सञ्चालनमार्फत जनसेवामा लागिरहेकै बेला देशका समस्या देखेर आवाज उठाएको उल्लेख गरेका छन्। ‘तीन बहिनी एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको खबरपछि रातभर निद्रा लागेन’, उनले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहपछि त म रोएको थिएँ।’

धार्मिक र राष्ट्रवादी सन्देश

प्रसाईंले पाथीभरा माताको दर्शन गरेर राष्ट्र, धर्म, संस्कृति बचाउने प्रण गरेको भन्दै २०४६ सालको संविधानमा फर्केर नेपाललाई फेरि “राजसंस्थायुक्त” बनाउनुपर्ने धारणा पनि दोहोर्याएका छन्। ‘म मरेरै भए पनि देश बनाउन लागिपरेको हुँ’, उनले लेखेका छन्।

आर्थिक पारदर्शिता र सेवा प्रतिबद्धता

बैंक ऋणका विषयमा उठाइएका प्रश्नप्रति प्रतिक्रिया दिँदै उनले सम्पत्ति धितो राखेर लिएको ऋण तिर्दै आएको स्पष्ट पारेका छन्। साथै, आर्थिक अभावमा उपचारबाट वञ्चित हुनेहरूले बीएण्डसी अस्पतालमा उनको नाममा बिल बनाएर उपचार गराउन सक्ने व्यवस्था रहेको जानकारी पनि दिएका छन्।

अन्तिम सन्देश

अपिलको अन्त्यमा प्रसाईंले सबै नेपालीले सन्तानसहितको सुखद जीवन बिताउन पाउनुपर्ने विश्वास व्यक्त गर्दै आफ्नो अभियान देशको धर्म, संस्कार, संस्कृति र नागरिक अधिकारको रक्षाका लागि भएको बताएका छन्।

“सूर्यमा सधैँ ग्रहण के लाग्ला र? एक दिन त खुल्ला नि आकाश, अनि उज्यालो हुनेछ धर्ती। हामी मिलेर बनाउँला सुन्दर नेपाल, हाम्रो नेपाल, आहा भन्नलायक नेपालीले भरिभराउ नेपाल।” – दुर्गा प्रसाईं, कारागारबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation