जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ,ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन्: नेपाल प्रहरी

काठमाडौँ । हालै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्’ भन्ने आशयका समाचार र टिप्पणीप्रति नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार सत्य नभएको स्पष्ट पारेको छ।

प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्ति अनुसार ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लङ्घन गरेबापत सङ्कलन गर्ने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था छ। सोबापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क वा सुविधा ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको प्रहरीले स्पष्ट पारेको छ।

तथ्य र आधिकारिक जानकारी बिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने प्रहरीको भनाइ छ। यसले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैसँग अनुरोध गरेको छ।

यसैगरी नेपाल प्रहरीले सबै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation