
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रूपमा देखिएको बताएका हुन् ।उनले भने,’लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ ।’
लागुऔषधको बिगबिगी देखिएको भन्दै यस विरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । ‘खास गरेर युवाहरूमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागुऔषधमा फसेको देखिएको छ, उनले भने, ‘लागुऔषध विरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषधको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’
यस्तै गृहमन्त्री लेखकले लागू औषध ब्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागु औषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने ।
गृहमन्त्रीले लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।