
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै आफूलाई पार्टी सदस्यताबाट रोक लगाउन नमिल्ने स्पष्ट पारेकी छन्। एमाले केन्द्रीय कमिटीले हालै गरेको निर्णयमा उनको पार्टी सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा फर्किन नपाउने भनिएको थियो।
उक्त निर्णयपछि पहिलोपटक पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा धारणा राख्दै भण्डारीले भनिन्, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो। अहिले ४५ वर्ष भइसकेको छ। यति लामो योगदान हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नु कदापि मिल्दैन।”
उनले एमालेको निर्णय वैध र परिपक्व हुन नसक्ने दाबी गरिन्। “यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठामा आघात पुग्छ,” उनले भनिन्, “आवेग र उत्तेजनामा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा दबाउन सकिए पनि वास्तविकता छोपिँदैन।”
भण्डारीले विवेकपूर्ण छलफलबिना लिइएका निर्णयहरू जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त र जबजको मूल मर्मविपरीत भएको बताइन्। “छलफल गरिकन विवेकसंगत ढंगले निर्णय लिनुपर्छ भन्ने पार्टी मूल्य र मान्यता हो,” उनले जोड दिइन्।
पार्टी निर्माणका क्रममा आफू लगायत हजारौं कार्यकर्ताले दिएको योगदानको स्मरण गर्दै उनले भनिन्, “यो पार्टी बनाउन हामीले रगत पसिना बगाएका हौं। म कुनै भावनामा बगेर होइन, तथ्य र अनुभवका आधारमा बोलिरहेकी छु।”
भण्डारीको यो प्रतिक्रिया एमालेभित्रको आन्तरिक असमझदारी र नेतृत्वप्रतिको असहमतिको संकेतको रूपमा लिइएको छ।