ललितपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटेर हत्या

ललितपुर, साउन १० – ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा एक युवतीको आफ्नै श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको छ।

शनिबार बिहान करिब पौने ७ बजेको समयमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले आफ्नी २० वर्षीया कान्छी श्रीमती डोल्मा वाइवाको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन्।

उनीहरू पुस्कर बस्नेतको घरमा डेरा गरी बस्दै आएका थिए। प्रहरीका अनुसार सामान्य विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या भएको खबरपछि प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) यम कुमार श्रेष्ठको कमाण्डमा ७ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।

मृतक वाइवा मकवानपुरकी हुन् भने स्याङतान सिन्धुलीका हुन्। वाइवा स्याङतानको कान्छी श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको चक्कु बरामद गरेको छ। हाल स्याङतानलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation