काठमाडौं, असार ३१ – सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै युवालाई डिजिटल क्षेत्रमा रोजगारी र अवसर उपलब्ध गराउने उद्देश्यले नयाँ पहल अघि बढाएको छ। यसअन्तर्गत सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा हरेक वर्ष रोजगार तथा करियर मेला सञ्चालन गरिने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, इन्फर्मेसन टेक्नोलोजी सोसाइटी (आईटीएस) नेपाल तथा नेपाल चेम्बरअन्तर्गतको आईसीटी समितिसँगको सहकार्यमा ‘नवप्रवर्तन, प्रविधि हस्तान्तरण, प्रतिभा विकास तथा विश्वव्यापी सहकार्यमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई तीव्रता दिने’ विषयमा राष्ट्रिय गोलमेच छलफल आयोजना गरेको हो।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले विद्यालयदेखि विश्वविद्यालयसम्म सूचना प्रविधिको प्रयोग र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले डिजिटाइजेसन, समावेशी शिक्षा तथा डिजिटल सीप विकासलाई शिक्षा प्रणालीसँग जोड्ने गरी आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले नेपालमा सूचना प्रविधि क्षेत्रको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमार्फत युवाका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कम लगानीमा उच्च आम्दानी र सीपमा आधारित अवसर सिर्जना गर्न सकिने भएकाले आईटी क्षेत्रले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
शिक्षा मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा ले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग विस्तार, युवालाई यस क्षेत्रमा आकर्षित गर्ने तथा आवश्यक नीतिगत सुधारका लागि सरोकारवालासँग छलफल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यो अभियान चरणबद्ध रूपमा अघि बढाइनेछ।
कार्यक्रममा सहभागीहरूले सरकारी प्राथमिकता र निजी क्षेत्रबीचको सहकार्यले सूचना प्रविधि क्षेत्रमा गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, सरकारको पहलमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

मन्त्रालयका अनुसार विश्वविद्यालय नेतृत्व, नीति–निर्माता र आईटी क्षेत्रका प्रतिनिधिबीच संस्थागत सहकार्य विस्तार गर्दै देशभित्रै रोजगारीका अवसर सुदृढ बनाउने, विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहित गर्ने तथा दक्ष जनशक्तिको विदेश पलायन (ब्रेन ड्रेन) न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
यसै रणनीतिअन्तर्गत नवनियुक्त उपकुलपतिहरूलाई चालु शैक्षिक सत्रदेखि सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा वार्षिक रोजगार तथा करियर मेला सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, अध्ययन पूरा हुनुअघि नै योग्य विद्यार्थीलाई सशर्त रोजगारी प्रस्ताव (Job Offer) उपलब्ध गराउने संयन्त्र विकास गर्न निजी क्षेत्रसँग समन्वय अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सीप र उद्योगबीचको अन्तर घटाउन उद्योगको आवश्यकता अनुसार पाठ्यक्रमलाई थप व्यावहारिक, अद्यावधिक र समयानुकूल बनाइनेछ। विश्वविद्यालय र सूचना प्रविधि उद्योगबीचको सहकार्यमा वैकल्पिक विषय विकास, उद्योग विशेषज्ञद्वारा अतिथि व्याख्यान तथा अन्तिम वर्षका परियोजनाको संयुक्त मूल्याङ्कन गर्ने योजना पनि अघि सारिएको छ।
यस्तै, क्रेडिटमा आधारित इन्टर्नसिप तथा आवासीय व्यावसायिक संलग्नताको मापदण्ड तयार पार्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ। इन्टर्नसिपलाई अध्ययनको अभिन्न अङ्गका रूपमा मान्यता दिँदै शैक्षिक क्रेडिटसँग आबद्ध गरिनेछ भने ‘Earn While You Learn’ अवधारणाअन्तर्गत निजी क्षेत्रसँगको सहकार्यमा इन्टर्न विद्यार्थीलाई आधारभूत पारिश्रमिक उपलब्ध गराउने वातावरण निर्माण गरिनेछ।
विद्यार्थी र उद्योगबीचको समन्वयलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन प्रमाणित इन्टर्नसिप तथा रोजगारीका अवसर एकीकृत रूपमा उपलब्ध गराउने केन्द्रीय डिजिटल पोर्टल सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस पहलले विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै नेपालको डिजिटल अर्थतन्त्रको विकास तथा नवप्रवर्तनमुखी दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









