बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताउनुभएको छ।

नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगत ६ दशकदेखि नेपालको विकास यात्रामा युएनडीपीले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो।

उहाँले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल रूपान्तरणलगायतका क्षेत्रमा युएनडीपीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

“गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकासदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ। यहाँहरूलाई धेरै–धेरै धन्यवाद। आज ६० वर्ष पुगेको हाम्रो सहकार्य आगामी १०० वर्षसम्म निरन्तर रहोस् भन्ने कामना गर्दछु,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

उहाँले संयुक्त राष्ट्रसङ्घको छातामुनि हुने विकास सहकार्यलाई केवल आर्थिक लगानीका आधारमा मात्र नभई अन्तर्राष्ट्रिय साझेदारी, अनुभव आदानप्रदान र दीर्घकालीन विकास समन्वयको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।

अर्थमन्त्री वाग्लेले आफूले पनि जीवनको महत्वपूर्ण समय युएनडीपीसँग बिताएको स्मरण गर्दै संस्थासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अवसरमा उहाँले युएनडीपीले नेपालमा ६० वर्षको अवधिमा गरेका विकास गतिविधि, उपलब्धि र सहकार्यका झलक समेटिएको “६० वर्षको सहयात्रा” शीर्षकको फोटो पुस्तक पनि सार्वजनिक गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation