सम्माननीय सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं। संघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध थप सुदृढ बन्दै गएको बताउनुभयो। उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उहाँको भनाइ थियो।

सभामुख अर्यालले नागरिक उड्डयन, रेल तथा बस सेवाको विस्तारले नेपाल–भारतबीचको सम्पर्क र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै भविष्यमा थप हवाई उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले भारतका लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिइसकेको जानकारी गराउँदै दुवै पक्षका लागि उपयुक्त समयमा उहाँलाई नेपालमा स्वागत गर्न नेपाल तयार रहेको बताउनुभयो।

भारतको संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सभामुख अर्यालले नेपालको प्रतिनिधि सभा पनि भारतको संसदीय अभ्यासबाट अनुभव आदानप्रदान गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले भारतले अवलम्बन गरेको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ जस्ता प्रविधिमैत्री अभ्यासको प्रशंसा गर्दै यस्ता अनुभव नेपालले पनि उपयोग गर्न सक्ने धारणा राख्नुभयो।

सभामुख अर्यालले नयाँ प्रतिनिधि सभा गठनपछि माननीय बिपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै संसदीय कूटनीतिले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग र सद्भावनाको प्रशंसा गर्नुभयो। साथै, साझा शान्ति, समृद्धि र विकासका लागि दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकन भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको थियो।

राजदूत श्रीवास्तवले संसदीय कूटनीति तथा उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation