प्रधानमन्त्री शाहद्वारा गभर्नरलाई अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिमा लचकता अपनाउन सुझाव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिलाई समयसापेक्ष,लचिलो र उद्यममैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री शाहले समग्र आर्थिक विकास,सेयर बजारको स्थायित्व तथा उद्यमशीलता प्रवर्द्धनका लागि मौद्रिक नीतिमा आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास स्थापित गर्न सकिने बताउनुभयो। उहाँले पुँजी बजारमा आबद्ध आम लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रधानमन्त्री शाहले मौद्रिक नीतिमा रहेका केही सीमित तथा अप्ठ्यारा व्यवस्थालाई पुनरावलोकन गर्दै सेयर बजारमा लगानीको वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुभयो। साथै, उद्योग,व्यवसाय तथा रोजगारी सिर्जना गर्न चाहने साना तथा ठूला उद्यमीलाई बिना त्रास लगानी गर्ने वातावरण सुनिश्चित गर्न र बैंकहरूको ब्याजदर तथा कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभयो।

उहाँले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई उनीहरूलाई राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो।

भेटका क्रममा गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकार र राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै कुनै पनि वर्गलाई अप्ठ्यारो पार्ने वा त्रसित बनाउने नीति नलिइने स्पष्ट पार्नुभयो।

गभर्नर पौडेलले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा आवश्यक सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation