चितवनमा विद्युत आपूर्ति समस्या: कार्यकारी निर्देशक शाक्यको स्थलगत निरीक्षण

चितवन, साउन १२ ।
चितवनमा विद्युत आपूर्तिमा समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज चितवन आइपुगेका छन्। चनौली सबस्टेशनले विद्युत आपूर्ति कटौतीसम्बन्धी सूचना जारी गरेपछि स्थानीय तहमा असन्तुष्टि चुलिँदै गएपछि शाक्य स्वयं समस्या बुझ्न चितवन पुगेका हुन्।

शाक्यले भरतपुर क्षेत्रमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीस्थित हर्दी सबस्टेशनको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ। हर्दी सबस्टेशनमा आइतबार राति २४ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरी सफल परीक्षणसमेत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।

उक्त ट्रान्सफर्मरमार्फत अब पूर्वी चितवनका टाँडी, खैरहनी, राप्ती, माडी लगायत अधिकांश क्षेत्रमा नियमित रूपमा विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। पछिल्लो समय चितवनमा बढ्दो गर्मीसँगै पूर्वी र पश्चिमी क्षेत्रहरूमा विद्युत आपूर्तिमा समस्या देखिएको थियो।

शनिबार चनौली सबस्टेशनले आपूर्ति कटौतीबारे सूचना सार्वजनिक गरेपछि प्राधिकरणले ‘लोडसेडिङ सुरु गरेको’ भन्दै सामाजिक सञ्जालमा आलोचना बढेको थियो। तर प्राधिकरणले यो नियमित मर्मत र प्रवर्धनको प्रक्रिया भएको स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार चितवनमा देखिएको विद्युत समस्या आउँदो मंगलबारसम्म समाधान हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation