काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्।
यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने कार्यक्रम रहेको छ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना, लगानीमैत्री वातावरण निर्माण तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाहरूसँग विस्तृत छलफल हुने जनाइएको छ।
सरकारले पुँजी बजार तथा वित्तीय क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिरहेका बेला आयोजना हुन लागेको यस बैठकलाई लगानीकर्ता, धितोपत्र व्यवसायी तथा बीमा क्षेत्रका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ। बैठकबाट पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा आवश्यक नीतिगत सुधारका विषयमा महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।










