कैलाली । नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको भ्रमणबाट स्वदेश फर्किएलगत्तै आज शीर्ष नेताहरूसँग सत्ता समीकरणबारे निर्णायक छलफलमा जुट्नुभएको छ।
पार्टी स्रोतका अनुसार आज प्रचण्डले सहसंयोजक माधवकुमार नेपालसहित वर्षमान पुन, प्रमेश हमाल, बेदुराम भुसाललगायत शीर्ष नेताहरूसँग बैठक गर्दै पछिल्लो राजनीतिक अवस्था, सत्ता सहकार्यको सम्भावना र पार्टीको रणनीतिबारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ।
देशभर कांग्रेस–एमाले गठबन्धन कमजोर बन्दै गएपछि नेकपाले दुवै दलसँग समानान्तर संवाद अघि बढाएको थियो। प्रचण्डलाई कांग्रेस र एमाले दुवैबाट सत्ता सहकार्यको प्रस्ताव आए पनि उहाँले कांग्रेस, नेकपा र एमाले सम्मिलित तीनदलीय गठबन्धन निर्माणको सम्भावना खोज्न निकट नेताहरूलाई निर्देशन दिनुभएको स्रोतको दाबी छ।
यद्यपि, कांग्रेसले भने तीनदलीय गठबन्धनमा सहभागी नहुने स्पष्ट संकेत दिइसकेको छ। कांग्रेस नेतृत्वले प्रदेशदेखि संघसम्म तीन दल मिलेर सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरिसकेको बताएको छ।
कांग्रेसको असहमतिपछि नेकपाभित्र एमालेसँगको सहकार्यलाई प्राथमिकता दिने आवाज बलियो बन्दै गएको नेताहरूको भनाइ छ। केही नेताले एमालेसँग दीर्घकालीन राजनीतिक सहकार्य र वाम एकताको सम्भावनासमेत छलफलमा रहेको बताएका छन्।
प्रचण्ड विदेशमा रहँदा माधवकुमार नेपालले वर्षमान पुन र प्रमेश हमाललाई गठबन्धनबारे संवादको जिम्मेवारी दिनुभएको थियो। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरे पनि कांग्रेससँग भने त्यस स्तरको संवाद हुन नसकेको बताइएको छ। आजको बैठकमा ती संवादको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ।
बैठकपछि पार्टीका अन्य नेताहरूलाई पनि सत्ता समीकरणबारे भएको छलफल र निर्णयबारे जानकारी गराइने नेकपा स्रोतले जनाएको छ। स्रोतका अनुसार नेताहरूले व्यक्तिगत रूपमा आ–आफ्ना धारणा राख्दै आए पनि पार्टीको आधिकारिक धारणा भने आजको छलफलपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
नेकपाभित्र एमालेसँग सहकार्य गर्ने विषयमा सकारात्मक माहोल देखिए पनि अन्तिम निर्णय संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीचको सहमतिपछि मात्रै हुने बताइएको छ। एमाले अध्यक्ष ओलीले समेत सहकार्यप्रति सकारात्मक संकेत दिइसकेको नेकपा स्रोतको दाबी छ।
यसैबीच, कर्णाली प्रदेशको सत्ता समीकरण पनि आजको छलफलको महत्वपूर्ण एजेन्डा बनेको छ। नेकपाले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमालेसँग सहकार्य गर्ने वा पूर्वसहमतिअनुसार कांग्रेसकै नेतृत्वलाई निरन्तरता दिने भन्ने विषयमा शीर्ष नेताहरूबीच निर्णय हुने अपेक्षा गरिएको छ।
उता, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणमा अघि बढ्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर सामूहिक निर्णय गर्नुपर्ने धारणा राख्नुभएको छ। उहाँले वामपन्थी शक्तिहरूबीच रहेका आग्रह, पूर्वाग्रह, दम्भ र अहंकार त्यागेर वाम एकताको दिशामा अघि बढ्नुपर्नेमा समेत जोड दिनुभएको छ।
अब नेकपाको आजको बैठकबाट आउने निष्कर्षले संघीय राजनीतिमा बन्ने नयाँ सत्ता समीकरणको दिशा तय गर्ने राजनीतिक वृत्तको अपेक्षा रहेको छ।










