चितवनका दुई स्थानको पहिरो पन्छाइयो, धादिङतर्फ सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा सवारी सञ्चालन ठप्प

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाइए पनि धादिङतर्फको सडक अझै अवरुद्ध रहेकाले सवारीसाधन सञ्चालन हुन सकेको छैन।

आज बिहान इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन र सम्बन्धित निकायको प्रयासपछि बिहान करिब ९ः३० बजे पहिरो हटाएर सडक खुलाइएको भए पनि धादिङको जवाङ खोलामा गएको पहिरोका कारण दुवैतर्फका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङतर्फको सडक अवरुद्ध रहेकाले चितवनबाट जाने सवारीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमा रोकिएको छ। यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फ आउने–जाने सवारीसाधन भने बिहानैदेखि सञ्चालनमा रहेका छन्।

पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गएरातिदेखि नै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको थियो। रातिदेखि रोकिएका सयौं सवारीसाधन अझै गन्तव्यतर्फ जान नसक्दा विभिन्न स्थानमा लामो सवारी जाम लागेको छ।

प्रहरी प्रशासनले यात्रु तथा चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सम्बन्धित निकायले धादिङतर्फको पहिरो हटाउने काम जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation