काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर ३ लाख सदस्यता वितरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरण अभियानसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार सदस्यता वितरण अभियानले पार्टीलाई देशभरका नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।
उनले आगामी तीन महिनालाई संगठन सुदृढीकरणको अभियानका रूपमा अघि बढाइने उल्लेख गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई सदस्यता विस्तार र संगठन निर्माणमा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गरे। पछिल्ला केही महिनाको घटनाक्रमले देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको भन्दै उनले सरकार तथा सबै राजनीतिक दलले समयमै गम्भीरता अपनाएर देशलाई अस्थिरता र द्वन्द्वबाट जोगाउन साझा पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपालले लामो समय राजनीतिक द्वन्द्वको पीडा भोगिसकेको स्मरण गराउँदै उनले फेरि त्यस्तै अवस्था दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।
अध्यक्ष घिसिङले वर्तमान परिस्थितिको प्रमुख जिम्मेवारी सरकारमाथि रहेको दाबी गर्दै जनताले दुई तिहाइको विश्वासका साथ निर्वाचित गरेको सरकारले नागरिकका अपेक्षा, इच्छा र मागलाई सम्बोधन गर्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
उनले पछिल्ला तीन–चार महिनाको अवधिमा पाँच जना नेपाली नागरिक आत्मदाह गर्न बाध्य भएको उल्लेख गर्दै त्यसले देशको सामाजिक तथा राजनीतिक अवस्था गम्भीर बन्दै गएको संकेत गरेको बताए। जनताको निराशा र असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके मुलुक थप जटिल परिस्थितिमा पुग्न सक्ने चेतावनी समेत उनले दिए।










