चितवन,। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को अनुगमन गर्दै दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार विकास, प्रयोगशाला तथा समग्र शैक्षिक अवस्थाबारे जानकारी लिनुका साथै क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र अन्य सरोकारवालासँग छलफल गर्नुभएको थियो।
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालयका रूपमा सञ्चालन हुँदै आएको छ। छलफलका क्रममा दुवै संस्थाबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजनाहरू प्रभावित भएको विषय प्रमुख रूपमा उठाइएको थियो।
मन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत उक्त विवाद समाधानको पहल गर्ने स्पष्ट पार्दै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी दिगो समाधान खोजिने बताउनुभयो।
उहाँले नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनमा यी दुवै संस्था अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई अझ सुदृढ, प्रभावकारी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सरकार अघि बढ्ने धारणा राख्नुभयो।
सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम रहेको जग्गा विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।
अनुगमन कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतमलगायतको सहभागिता रहेको थियो।










