संसदमा बहस र संशोधनमार्फत सही कानुनको पक्षमा उभिन ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा बहुमत नहुँदैमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिने भन्ने नठान्न सांसदहरूलाई आग्रह गर्दै बहस र संशोधनमार्फत सही कानुन निर्माणको आधार प्रस्तुत गर्नुपर्ने बताएका छन्।

एमालेका सांसदहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा पार्टीको संख्या कम भए पनि तथ्य, तर्क र प्रभावकारी बहसका माध्यमबाट सही कानुन कस्तो हुनुपर्छ भन्ने स्पष्ट रूपमा स्थापित गर्न सकिने बताए।

उनले सांसदहरूलाई पार्टीले तय गरेको नीति, सिद्धान्त र योजनालाई आत्मसात् गर्दै संसदमा प्रस्तुत हुन आग्रह गरे। पार्टीका विभागहरूसँग निरन्तर समन्वय गर्दै संगठित र योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसबाट पार्टीको प्रभाव र शक्ति अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले देशबाट युवाहरू विदेशिने क्रम अझै नरोकिएको उल्लेख गर्दै यस विषयमा सरकारको दृष्टिकोणप्रति पनि टिप्पणी गरे। उनले गत वर्ष यही समयमा “देश खाली भयो” भन्दै व्यापक प्रचार गरिएको स्मरण गराउँदै अहिले भने वैदेशिक रोजगारीलाई व्यक्तिको अधिकारका रूपमा व्याख्या गर्न थालिएको बताए।

त्यसैगरी, मिटरब्याज पीडितहरूको समस्या समाधानमा सरकारले पुनः आश्वासन मात्र दिएको आरोप लगाउँदै ओलीले पीडितहरूले फेरि धोका पाएको दाबी गरे। उनले यसबारेको वास्तविकता केही समयपछि स्वयं पीडितहरूले महसुस गर्ने टिप्पणी समेत गरे।

अध्यक्ष ओलीको भनाइले संसदमा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै कानुन निर्माण प्रक्रियामा प्रभावकारी सहभागिता जनाउने रणनीतिलाई थप स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation