
काठमाडौं ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरू उर्मिला हायुको परिवारका सदस्य हुन्। वडा अध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत उक्त घटनाको जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार परिवारले घरमा चौपायामात्रै अलपत्र छाडेर सम्पर्कविहीन भएको अवस्थामा फेला परेको हो।
श्रेष्ठका अनुसार घटनास्थलमा गाइबस्तु, बाख्रा, कुखुरा जस्ताका साथै केही दिनअघि मात्र बेचेको भनिएको बोकोको पनि विवरण पाइएको छ। “तीन दिनअघि बोको पनि बेचेका रहेछन्, घरमा अलिकति आगो लागेको छ, आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन्,” वडा अध्यक्ष श्रेष्ठले बताए।
उक्त परिवारले चार दिनअघि मात्र सीमान्तकृत समुदायको नाममा एकमुष्ट रुपमा प्राप्त वार्षिक भत्ता बैंकबाट निकालेका थिए। त्यसपछि नै उनीहरू बेपत्ता भएको अनुमान गरिएको छ।
बेपत्तामध्ये उर्मिलाको छोरा, बुहारी, नाति–नातिना, छोरीहरूसमेत रहेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।