
काठमाडौं, साउन १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनिएको विषयलाई नै ठूलो काम ठानेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलामा बोल्दै वाग्लेले सरकारको यस्तो कदमले लोकतान्त्रिक मूल्य र मान्यता माथि प्रश्न उठाएको बताए। उनले भने, “सरकारले रविलाई थुन्नु नै आफ्नो उपलब्धि ठानेको छ, तर ठूला दलहरू अब त्यसको नतिजा चाँडै भोग्नेछन्।”
वाग्लेले वर्तमान सरकार गठन संविधान संशोधनको बहानामा गरिएको सफेद झुट भएको आरोप लगाए। उनका अनुसार, “भ्रष्टहरूको फाइल जोगाउन ठूला दलहरू आपसी मिलेमतोमा सरकारमा पुगेका छन्।”
समृद्धि र सुशासनको नारा दिएर बनेको सरकारले आफ्ना मन्त्रीहरूलाई समेत भ्रष्टाचारमा डुबाएको वाग्लेको आरोप छ। उनले थपे, “सुशासन कायम गर्छौं भनेर बनेको सरकारबाट हरेक दिन कुनै न कुनै काण्ड बाहिरिनु अत्यन्त लज्जास्पद छ।”